काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी निर्वाचनमा पनि तालमेल गर्ने निर्णय गरेको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो।
त्यसका लागि तालमेल सम्बन्धी सबै काम भदौ पहिलो साताभित्र टुङ्ग्याउने गठबन्धनको तयारी छ। आजको बैठकले सिट बाँडफाँटको गृहकार्य गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन्।
यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।
कार्यदलले कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्नेछ।
सत्ता गठबन्धनले यसअघि बैशाखमा भएको स्थानीय तहको चुनावमा पनि गठबन्धन गरेका थिए।