काठमाडौं। चर्चित गायिका मेलिना राईले एरेन्जर सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडेकी छन्।
मेलिनाले शुक्रबार सामाजिक सञ्जालमार्फत बराइलीसँगको इन्गेजमेन्ट तोडिएको घोषणा गरेकी छन्। इन्गेजमेन्टपछि दुईजनाबीच लामो विमर्श र छलफलपछि छुट्टिने निर्णय गरेको उनले उल्लेख गरेकी छन्।
उनले भनेकी छन्, ‘हामीबीच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन। धेरै समिक्षा आत्मा समिक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो।’
उनले थप स्पष्ट पार्दै भनेकी छन्, ‘फेरि सबै इन्गेजमेन्टहरु विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ। त्यसैले आजकै मितिबाट हामीबीचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्वजानिक गर्दछु। योबीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु।’
यसै वर्ष विवाह गर्ने तयारीका साथ उनीहरुले वैशाख २ गते इन्गेजमेन्ट गरेको तस्वीर सार्वजनिक गरेका थिए।
यसअघि सञ्जीवसँग इन्गेजमेन्ट गरेपछि खास गरी मेलिनाका आफन्त र किराती समुदायका कयौँ मानिस क्रुद्ध भएका थिए।
कतिपयले यही विषयलाई लिएर उनीहरुबीचको इन्गेजमेन्ट तोडिएको आकलन गरेका छन्। तर, यस विषयमा मेलिनाले केही खुलाएकी छैनन्।