काठमाडौं। राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन आग्रह गरेका छन्।
आफ्नो भविष्य राम्रो बनाउन नेपाल छाडेर खेलाडी विदेशिने क्रम बढेपछि उनले शनिबार सामाजिक सञ्जालमार्फत नेपाली खेलकुदको भविष्य जोगाउन सरकारसँग आग्रह गरेका हुन्।
उनले नेपाली खेलकुदको भविष्य जोगाउनको लागि रोडम्याप बनाउनुपर्ने र त्यसका लागि ५ देखि ७ जनासम्मको टोली तुरुन्तै बनाउन खेलकुद मन्त्रालय, खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र महासंघलाई अनुरोध गरेका छन्।
‘आफ्नो भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश गएका खेलाडीहरुलाई म दोष दिन सक्दिन। नेपाली खेलकुदको भविष्य जोगाउन केही गर्न सरकारलाई विनम्र अनुरोध गर्दछु’, उनले भनेका छन्, ‘नेपाली खेलकुदको भविष्य जोगाउनको लागि ५ देखि ७ जनासम्मको टोली बनाउन खेलकुद मन्त्री, खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र महासंघलाई विनम्र अनुरोध गर्दछु।’
पछिल्लो समय एकपछि अर्का फुटबल खेलाडी भविष्य बनाउन अष्ट्रेलिया, अमेरिकालगायतका देशमा गइरहेका छन्।
शुक्रबार मात्रै नेपाली राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका फरवार्ड विमल राना र मिडफिल्डर हेमन्त थापा मगर अष्ट्रेलिया प्रस्थान गरेका थिए।
यसअघि राष्ट्रिय टोलीकै सदस्य सुमन लामा, आशिष लामा, सन्तोष तामाङ, दर्शन गुरुङ, नविन गुरुङ र विमल राना अष्ट्रेलिया गइसकेका छन्।
मिडफिल्डर हेमन गुरुङ, गोलरक्षक एलन न्यौपाने र जगजित श्रेष्ठसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका विमल बस्नेत पनि दुई वर्षयता अष्ट्रेलियामै रहेका छन्। त्यसअघि उमेर समूहमा राम्रो प्रदर्शन गरेका सुलभ मास्के, विवेक प्रताप पन्त लगायत खेलाडी पलायन भएका थिए।