काठमाडौं। आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ।
शनिबार संघीय संसद्का महासचिव भरतराज गौतमले आइतबारको प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गर्दै प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका छन्।
शनिबार सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा भनिएको छ, ‘मिति २०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने।’
प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ फागुन २९ गते महाभियोग दर्ता भएको थियो। महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए।
सम्बन्धित समाचारः
प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता, यी हुन् २१ आरोप (पूर्णपाठ)
प्रतिनिधिसभाले फागुन २२ गते महाभियोग सिफारिस समिति गठन गरको थियो। तर, त्यसपछि छलफल अगाडि बढ्न सकेको थिएन।