काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।
शनिवार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले ‘फस्र्ट म्यान’ बनेर देशको विकास गर्ने चाहना भएको बताएका हुन्।
उनले आफूले पार्टी र सरकारको विभिन्न तहमा बसी काम गरेकाले अबको चाहना ‘वान अफ म्यान’ बनेर देशको सेवा गर्न चाहेको बताए। नेता सिंहले असल नियत भएको र लोभ नभएको नेताहरू ठाउँमा पुगेपछि देशको कायापलट कसरी हुन्छ भन्ने कुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताए।
‘मौका पाएँ भने मेरो तल्लोस्तरदेखि माथिल्लोस्तरका पार्टीका निकायमा बसेर काम गरेको अनुभव छ । नम्बर वान म्यान भएर काम गर्ने मौका पाएँ भने मैले राम्रो असल नियत भएको, लोभ नभएको, नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुने रहेछ भन्ने कुरा म देखाउन चाहन्छु’, उनले भने।
नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले रोइरहेको बताए। उनले नेकपा एमालेले बहुमत ल्याएर सत्तामा जाँदासमेत काम गर्न नसकेको आरोप लगाए।
नेता सिंहले सबै नेताको एकै किसिमको स्वभाव र चरित्र नहुने भन्दै एउटाले भ्रष्टाचार गरेको कुरामा सबै नेता त्यस्तै हुन् भन्न नमिल्ने जिकिर गरे।