गजा। इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन्।
मृत्यु हुनेमा छ बालबालिका र दुई महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा स्ट्रिप शहर रफाहमा एउटा घरलाई बिना चेतावनी आक्रमणको निशाना बनाउवदा दुई प्यालेस्टिनीको मृत्यु हुनाको साथै ३० भन्दा बढी घाइते भएको प्यालेस्टिनी सुरक्षा स्रोतहरूले बताएको छ।
यसैबीच, प्यालेस्टिनी स्रोतका अनुसार उत्तरी गाजाको जबलियाको शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा चार बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्।
इजरायलले विस्फोटको जिम्मेवारी भने अस्वीकार गरेको छ।
हवाई आक्रमणमा गाजामा दोस्रो शीर्ष इस्लामिक जिहाद कमाण्डर मारिए
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा इस्लामिक जिहादका उच्च कमाण्डर खालिद मन्सुर मारिएको लडाकु समूहको सशस्त्र शाखा अल–कुड्स ब्रिगेडले जनाएको छ।
शुक्रबार इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी गाजामा इस्लामिक जिहादका एक वरिष्ठ कमाण्डर तैसिर जबारी इजरायली हवाई हमलामा मारिएको पुष्टि गरेको छ।
अल–कुड्स ब्रिगेडले आइतबार बिहान दक्षिणी गाजामा यसका उच्च–स्तरीय कमाण्डर खालेद मन्सुर शनिबार राति रफाह शहरमा इजरायली हवाई हमलामा मारिएको बताएको छ।
आईडीएफले शुक्रबार गाजा पट्टीमा प्यालेस्टाइनी आन्दोलन इस्लामिक जिहाद विरुद्ध ब्रेकिङ डन नामक अपरेशन शुरु गरेको छ। जबरी इजरायली हमलामा मारिएपछि इस्लामिक जिहादका नेता जियाद नाखलाहले तेल अवीवमा क्षेप्यास्त्र आक्रमण गरेर बदला लिने धम्की दिएका छन्।
त्यसयता इजरायलले गाजा स्ट्रिपमा क्षेप्यास्त्र हमला र नयाँ आक्रमणहरू शुरु गर्दै आएको छ।