काठमाडौं। सरकारले चालु वर्ष गरेको कर्मचारीको तलब वृद्धि अवैज्ञानिक भएको भन्दै नायब सुब्बा आन्दोलित भएका छन्।
सोमबार सिंहदबारमा कार्यरत नायब सुब्बाहरूले ‘पेन डाउन’ गर्दै तलब वृद्धि अवैज्ञानिक भएको भन्दै आन्दोलन गरे।
सार्वजनिक गरिएको तलबमान सरकारले बजेट भाषणमा गरिएको घोषणावपरीत माथिल्लो तहका कर्मचारीहरू तलब धेरै बढाइएको भन्दै नायब सुब्बाहरूले पेन डाउन गरेका हुन्।
आन्दोलनको कार्यक्रमअनुसार नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोषणा गरेका छन्। साथै मंगलबार अर्थमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यसचिव, अर्थ सचिव र सामान्य प्रशासन सचिवलाई नासु बचाउ अभियानले उठाएका मागबारे एसएमएस गर्ने कार्यक्रम रहेको नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले जानकारी दिए।
यस्तै, अर्थमन्त्री जनार्दन शर्माले असमानरूपमा बढाएको तलबमान लागू नगर्ने आश्वासन दिएका छन्।
उनले त्यस विषयमा पे कमिसनबाट सुझाव लिएर मात्र आवश्यक निर्णय लिइने कर्मचारी ट्रेड युनियनका अधिकारीलाई आश्वासन दिए।
अर्थ मन्त्रालयले तयार पारेको नयाँ तलबमान बजेट वक्तव्यभन्दा फरक र विभेदपूर्ण भएको भन्दै नेपाल निजामती कर्मचारी संगठनले पनि आपत्ति जनाएको छ।
अर्थमन्त्री शर्माले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सबै राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख थियो। तर साउन १ गतेदेखि लागु हुने कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि गरेर सार्वजनिक भएको छ।