काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन्।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका हुन्।
उनले जन्मेको माटो र जन्मदिने आमाको दुधको भारी तिर्न जुम्लाबाट निर्वाचन लड्ने बताए।
उनले भने, ‘जुम्लाले धेरै प्रतिनिधि पठायो। न जुम्लाको आवाज काठमाडौंले सुन्यो, न जुम्ली जनताले देशको नेतृत्व पायो। मलाई काठमाडौैंदेखि राप्रपाको राम्रो मत भएको जिल्लाबाट चुनाव लड्ने धेरै सुझाव दिए। तर, जन्मेको माटो र जन्मदिने आमाको दुधको भारी तिर्नुछ। जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गर्दछु।’
एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए।
अहिले पनि माओवादीबाट महत र कर्णाली प्रदेशका गृहमन्त्री भइसकेका नरेश भण्डारीको चर्चा रहेको छ।