काठमाडौं। आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठन गरिएको सत्ता गठबन्धनको कार्यदलको बैठक जारी छ।
सिट बाँडफाँटका लागि गठन गरिएको गठबन्धनको कार्यदलको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
सिट बाँडफाँटको मोडिलाटी तय गर्न सत्ता गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन्।
यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।
कार्यदलले कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्नेछ।