काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह (बालेन) नर्भिक अस्पताल पुगेका छन्।
सोमबार काठमाडौं महानगरपालिकाले नर्भिक इन्टरनेशनल हस्पिटललाई २४ घण्टाभित्र संरचना हटाउन निर्देशन दिएको थियो। त्यसको २४ घण्टामै बालेन नर्भिक अस्पताल पुगेका हुन्।
सो क्रममा नर्भिक अस्पतालले तत्काल अस्पतालको भवन भत्काउन नसक्ने जानकारी गराएको छ। नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले आफ्नो अस्पतालमा सयौं बिरामीहरु क्रिटिकल अवस्थामा रहेको भन्दै तत्काल भत्काउन नसक्ने बताए।
नक्सापास बिना बनाएका संरचना हटाउनका लागि नर्भिक अस्पताललाई बालेनले अल्टिमेटम दिएका छन्। उनले सो भने, ‘१० दिन, १५ दिन एक महिना कति लाग्छ समय दिनपर्यो। अक्सिजन प्लान्ट झिक्दा बिरामीलाई लाई गाह्रो हुन्छ भन्ने कुरा अस्पतालबाट भयो।’
त्यस्तै, काठमाडौं महानगरपालिका र नर्भिक इन्टरनेसनल अस्पतालबीच इन्जिनियरहरूले अस्पतालमा भएका सामग्री अन्यत्र जडान गर्न र सार्न लाग्ने समयबारे प्रतिवेदन बुझाउने र सोही आधारमा अर्को कदम चाल्ने सहमति गरेका छन्।
त्यसपछि नर्भिकका संरचना हटाउन अल्टिमेटम दिएर बालेन फर्किएका छन्। सो क्रममा शाह र अस्पतालका कर्मचारीबीच चर्काचर्की भएको थियो।