काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध रहेको बताएका छन्।
मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध रहेकोले कानुन बमोजिर्म कडा कारबाही गरिने बताए।
उनले फोहोर बोक्ने साधनहरुको तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराइने र यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको जानकारी दिएका छन्।
उनले सोमबार राति भएको फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोडलाई फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलको रुपमा बुझेका छन्।
केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न नसकिने भएकाले विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास नगर्न उनले आग्रह गरेका छन्।
उनले फोहोर व्यवस्थापनप्रतिसुरुवातदेखि नै संवेदनशील र क्रियाशिल रहेको भए पनि बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको आरोप लगाएका छन्।
सोमबार राति फोहोर व्यवस्थापनमा प्रयोग हुने काठमाडौं महानगरका विभिन्न सवारी साधनमा बञ्चरेडाँडामा तोडफोड भएको थियो।