काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदले देशका विभिन्न स्थानमा बाढी पहिराका कारण जनजीवन प्रभावित भएको जनाउँदै प्रभावितलाई तत्काल उद्धार एवम् राहतको प्रबन्ध गर्न सरकारसंग माग गरेका छन्।
बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले प्राकृतिक विपत्तिसँग लड्ने प्रभावकारी कार्यक्रम र योजनाको प्रबन्ध गर्न माग गरेका छन्।
बैठकमा सांसद नविना लामाले मङ्गलबार रातिको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न नदी करिडोरमा क्षति पुर्याएको जनाउँदै प्रभावितलाई राहतको प्रबन्ध गर्न माग गरिन्।
सांसद नरबहादुर धामीले गत वर्षको बाढी प्रभावितले अहिलेसम्म राहत नपाएको गुनासो गरे। सांसद नारायणप्रसाद खतिवडाले मङ्गलबार रातिको अविरल वर्षाका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा बाढी र पहिराले जनजीवन प्रभावित पारेको जनाउँदै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरे।
सांसद दलबहादुर रानाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पहाडी र हिमाली क्षेत्रमा तटबन्धको कार्यक्रम अगाडि नबढाएकामा गुनासो गर्दै त्यस्ता कार्यक्रम तत्काल सुरु गर्न माग गरे।
सांसद दीपकप्रकाश भट्टले महाकाली सिँचाइ आयोजनाको निर्माण ढिलो भएको जनाउँदै तालुकदार मन्त्रालयको ध्यानाकर्षण गरारे।
सांसद प्रमिला राईले अविरल वर्षाका कारण उदयपुरका नागरिक असाध्यै प्रभावित भएकाले उनीहरुको गाँसबासको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराइन्।
इस्तै, राष्ट्रियसभाका सांसदले मुलुकका धेरै जिल्लामा विपद्जन्य घटना निम्तिएको र यसले जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिएर बोल्दै सांसद विमला घिमिरेले वर्षाका कारण किसानले गत वर्ष क्षति बेहोरेको धानको राहतसमेत नपाएको बताइन्। उनले सरकारले क्षतिको अभिलेख मात्रै सङ्कलन गरेर क्षतिपूर्ति नदिएको अवस्थामा अहिले फेरि धानका लागि मलसमेत नपाउनु विडम्बना भएको बताइन्।
उनले बाढी पहिरो प्रभावितको उचित व्यवस्थापन र राहत दिन पनि आग्रह गरिन्।
अर्का सांसद शारदादेवी भट्टले यस वर्ष पनि वर्षाका कारण मुलुकका धेरै क्षेत्रमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै प्रभावित नागरिकलाई उचित राहत दिन आग्रह गरिन्।