काठमाडौँ । नेपाल प्राध्यापक सङ्घले शिक्षा र स्वास्थ्यका सबै सेवा राज्यको दायित्वभित्र पार्नुपर्नेमा जोड दिएको छ। सङ्घको हीरक महोत्सवका अवसरमा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रा डा बुद्धबहादुर थापाले शिक्षा र स्वास्थ्यको सबै जिम्मेबारी राज्यले लिनुपर्ने बताए ।
उनले शिक्षा र स्वास्थ्यलाई राज्यको पूर्ण जिम्मेवारीभित्र पारेर निःशुल्क बनाउन सङ्घले माग गर्दै आएको जानकारी दिए । उनले नेपालमा पछिल्लो समय विश्वविद्यालयको स्थापना भद्रगोल तरिकाले गरिकाले भएकाले त्यसलाई गुणस्तरीय बनाउन कडाइ गर्नुपर्नेमा जोड दिए ।
उनले विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्दा पनि पारदर्शी र परिपक्व प्रक्रिया नअपनाइएकाले गुणस्तरमा ह्रास आउँदै गएको टिप्पणी गरे । “कतिपय विश्वविद्यालयका पदहरु त सत्तारुढ दलका कार्यकर्ता तथा समर्थकलाई जागिर दिन वा सेवासुविधा दिलाउनका लागि मात्रै दुरुपयोग भएकाले त्यसलाई तत्काल सुधार गर्नुपर्दछ”, पत्रकार सम्मेलनमा प्रा डा थापाले भने।
उनले हरेक विषयमा पर्याप्त ज्ञान भएका प्राध्यापक आफूहरुसँग भए पनि सरकारले वास्ता नगरेको र भूमिका दिन नसकेको गुनासो गरे । प्रा डा थापाले प्राध्यापक सङ्घ शिक्षा तथा बौद्धिक क्षेत्रका लागि दबाव समूह मात्रै भएकाले सरोकारवालालाई दबाव दिने वा घचघच्याउने गरे पनि सुनुवाइ भने नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
सङ्घले भोलि बिहीबार काठमाडौँमा आयोजना गरेको हीरक महोत्सव समारोहको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने र विभिन्न शैक्षिक सवालमा अन्तक्र्रिया गर्ने तय भएको उनले जानकारी दिए ।