काठमाडौँ । नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत बिद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउनेछन् भने सो विभागका विद्यार्थीहरु र प्राध्यापकहरू मार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ्ग क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु संचालन गर्नेछ ।
सम्झौताअनुसार बैंकको अनुसन्धान सम्बन्धी कार्यको लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ । सो सूची अन्तर्गतका प्राध्यापकहरुलाई आवश्यकताअनुसार बैंकले अनुसन्धानको लागि विषय विज्ञका रूपमा नियुक्त गर्नेछ ।
त्यसैगरी बैंकले गरेका अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट (जिआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम ५ जना विद्यार्थीहरूलाई बैंकले प्रति बिद्यार्थी नगद रु तीस हजार प्रदान गर्नेछ ।
बैंकले व्यवस्थापन विभागमा एमविए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका १ जना छात्र र १ जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडल सहित “नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड” समेत प्रदान गर्नेछ ।
यससम्बन्धी सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।