काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोक्नु जस्तै भएको बताएका छन् ।
महानगरपालिकाको आज बिहीवार बसेको कार्यपालिका बैठकमा मेयर शाहले फोहर व्यवस्थापन अति आवश्यक सेवा भएकाले फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोके सरह नै हुने बताएका हुन् ।
उनले फोहर बोकेका गाडी तोडफोड गर्ने तथा फोहोर फाल्न नदिनेलाई कारबाही गरिने पनि बताए । कारबाही नभएमा अराजकता फैलिने मेयर शाहको भनाइ छ ।
सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले भदौ १ गतेदेखि फोहर फाल्न नदिने चेतावनी दिएका छन् ।
काठमाडौँको फोहर व्यवस्थापनमा पटक–पटक अवरोध हुँदै आएको छ । गएको मङ्गलवार फोहर बोकेर बञ्चरे डाँडा गएका १५ वटा टिपरसहित १८ गाडीमा तोडफोड भएको थियो ।