काठमाडौँ । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो ।
निर्माता राजेश वंशलले फागुन ५ गतेका लागि नयाँ प्रदर्शन मिति तोकिएको बताए । उनले वितरक, हल सञ्चालक एवं चलचित्रकर्मीहरूसँगको सल्लाहमा चलचित्रलाई फागुनमा ल्याउने निर्णय गरिएको जानकारी गराए ।
चलचित्रको केही प्राविधिक कामहरू बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने महसुस भएकाले उक्त मितिबाट केही पछाडि सारिएको निर्देशक नारायण रायमाझीले बताए ।
निर्णय अनपेक्षित भए पनि समग्र चलचित्र क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाइ छ ।चलचित्र ‘परदेशी २’ मा प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटीलगायतको मुख्य भूमिका छ ।