काठमाडौँ । राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी ‘कुमारी आमा’ निहारिका राजपूतका माग सम्बोधनका लागि सरकारले पहल गरेको छ।
गत असार ४ गते सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले आमरण अनसनरत निहारिकासँग पाँच बुँदे सम्झौता गरेका थिए । तर सरकारले आफूसँग गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै निहारिकाले शुक्रबार आत्मदाहको प्रयास गरेकी थिईन् ।
पेट्रोल खन्याएर शरीरमा आगो लगाउने क्रममा निहारिकालाई प्रहरीले उद्धार गरी अस्पताल पु-याएको थियो। उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
सरकारका तर्फबाट भएका सहमति कार्यान्वयनका लागि गृह मन्त्रालयले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, अर्थ मन्त्रालयसँग समन्वय भइरहेको र केही दिनभित्र माग सम्बोधन हुने जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले राज्य र निहारिकाबीच भएको पाँच बुँदे सहमति कार्यान्वयनमा गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए। उनले सहमतिका कतिपय विषय अन्य मन्त्रालयसँग समेत जोडिएको र समन्वयका क्रममा केही ढिला भएको स्वीकार गरे । उनले राज्यका तर्फबाट भएका समहति कार्यान्वयन गरी पीडितलाई न्याय दिलाउन गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए।
बलात्कारबाट जन्मेको बच्चाको र आरोपीबीच डीएनए परीक्षण गरी पहिचान गर्ने, नाबालक बच्चाको सुरक्षा, आवास, आर्थिक सहायतालगायत पीडितमैत्री कानुन बनाउने सहमति भएको थियो।