काठमाडौँ । मधेश प्रदेश सरकारले आज (आइतबार)देखि संघीय सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । प्रहरी समायोजनको अधिकार हस्तान्तण गर्नुपर्ने माग राख्दै मधेश सरकारले आजदेखि एक सातासम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने भएको हो ।
दैनिक दुई घण्टा हुने धर्नामा प्रदेशका मन्त्री, सांसद र नागरिक समाजको सहभागिता रहने छन् ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअगावै प्रहरी समायोजन गर्न दिइएको ध्यानाकर्षणपत्रबारे नेपाल सरकारले कुनै चासो नदिएपछि बाध्य भएर पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिएको प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत शाहले बताए ।
एक हप्ताभित्र पनि माग सम्बोधन नभए नेपाल सरकारविरुद्ध ‘थप कडा’ आन्दोलनको कार्यक्रम घोषणा गरिने उनले चेतावनी दिए ।