काठमाडौं। १६ वर्षीय बालकको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रर्दशन गरिएको छ।
बाराको बिश्रामपुर गाउँपालिका–५ का १६ वर्षीय बालक राजकुमार ठाकुरको अपहरण गरि हत्या गरेको आरोपमा पक्राउ परेका सोही ठाउँको इटियाहीका ३० वर्षीय प्रितम पटेल र २८ वर्षीय उत्तम पटेललाई कारवाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रर्दशन गरिएको हो। उनीहरु दुबै जनालाई प्रहरीले साउन २५ गतै नै पक्राउ गरिसकेको छ।
प्रदर्शनपछि प्रहरीले बालक राजकुमारको हत्या सम्बन्धमा गम्भीर ढंगले अनुसन्धान गर्ने आश्वासन दिएपछि स्थानीय घर फर्केका छन्।
कसरी भयो हत्या ?
साउन २४ गते विद्यालय जान हिँडेका राजकुमार घर फर्किएका थिएनन्। उनलाई पटेल दाजुभाईले विद्यालय पुग्नु अवागै अपहरण गरि वीरगंज महानगरपालिका–१६ नगवामा रहेको आफ्नो टेलर्समा लिएका थिए।
टेलर्सको सटर लगाएर घाँटी थिचेर ठाकुरको हत्या गरेको उनीहरुले प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रहलाद कार्कीले जानकारी दिए।
पटेल दाजुभाईले हत्यापछि ठाकुरको शवलाई बोराभित्र राखेर ना ३८ प ४३९५ नम्बरको मोटरसाइकल प्रयोग गरी भारतको रक्सौल रेल्वे स्टेशनमा पुर्याएका थिए। त्यहाँ रोकेर राखेको मुजफ्फरपुर जाने रेलको खाली डिब्बामा शव छाडेको बयान दिएका थिए। त्यही बयानका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहको कमाण्डमा खटिएको टोलीले भारतीय प्रहरीको समन्वयमा भारत विहारको भागलपुरबाट शव आइतबार साउन २९ गते ल्याएको थियो।
उनीहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध रहेको आशङ्कामा राजकुमारलाई टेलर्समा लगेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ।