काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचारका लागि फिर्ता पठाएको निर्णय दुःखद भएको जनाएको छ ।
सत्तारुढ नेपाली कांग्रेसकी प्रमुख सचेतक चित्रलेखा यादवले दुवै सदनबाट जनताका प्रतिनिधिले अनुमोदन गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मै फिर्ता पठाउनु दुःखद भएको बताएकी हुन्।
उनले राष्ट्रपति भण्डारीको सो निर्णय अत्यन्तै अस्वाभाविक, अदूरदर्शी र विवेकहीन भएको बताइन्।
‘नागरिकता संविधानले नागरिकलाई दिएको अधिकार हो। त्यस्तो कानुन संघीय संसद्ले बेलैमा जारी गर्न सकेको थिएन, यस्तोमा राष्ट्रपतिबाट छिटो गर्न सुझाव दिनुपर्ने हो तर उहाँले त दुवै सदनबाट जनताका प्रतिनिधिले अनुमोदन गरेर पठाएको विधेयक यतिन्जेलसम्म रोकेर अहिले फिर्ता पठाउनुभएको छ,’ प्रमुख सचेतक यादवले भनिन्, ‘दुवै सदनबाट अनुमोदन भएको विधेयक राष्ट्रपतिजीबाट सहजै अनुमोदन हुनुपर्ने हो। त्यो सामान्य प्रक्रिया नै हो । तर, यो अत्यन्तै अस्वाभाविक, अदूरर्शी र विवेकहीन निर्णय भएको छ । यो दुःखद छ।’
उनले राष्ट्रपति भण्डारीले आफू पनि पदमा नभए सामान्य नागरिक मात्रै हुँ भन्ने कुरा भुल्न नहुने बताइन्। प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेपछि १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४औं दिनमा राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी हुन्।
यो पनि पढ्नुस् :-
राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता
एमालेद्वारा नागरिकता विधेयक फिर्ता निर्णयको स्वागत