काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा नदिए महाअभियोग लगाउन माग गरेको छ।
संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर फिर्ता पठाइदिएपछि तरूण दलले राष्ट्रपति भण्डारीको राजीनामा माग गरेको हो। भण्डारीले राजीनामा नदिए महाअभियोग लगाउन पनि तरूण दलल माग गरेको छ।
नगरिकता विधेयकमा अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रमाणीकरणविना प्रतिनिधि सभामा फिर्ता पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष विद्वान गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘नागरिकताविहीन नेपाली जनतामाथिको यो अपमान घोर निन्दा र भर्त्सना गर्दछ। राष्ट्रको गम्भीर र जनताको जीवनसँग जोडिएको विषयमा खेलवाड गर्ने, बेवास्ता गर्ने र सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनेर राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्यूतसमेत गर्न संसद र सरकारसँग तरूण दल केन्द्रीय समिति आग्रह गर्दछ।’

राष्ट्रपति भण्डारीले आइतबार साँझ नागरिकता विधेयक फिर्ता गरेकी थिइन्। सो विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता गरेको राष्ट्रपति कार्यालयले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको थियो।
नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको उक्त निर्णयको सत्तारुददेखि मधेसवादी दलले विरोध गरिरहेका छन् भने एमाले, राप्रपालगायत नागरिक समाजले स्वागत गरिरहेका छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत यही नागरिकता विधेयक पठाउँदा लगत्तै प्रमाणिकरण गरेकी राष्ट्रपति भण्डारीले अहिले फिर्ता पठाइदिएपछि कतिपयले उनको निर्णयमा प्रश्न उठाएका छन्।