काठमाडौँ । आज(सोमबार) धुनिबेंसी नगरपालिका-१ मा सत्तारुढ र विपक्षी दलका अवरोधकाबीच बन्चरेडाँडामा फोहोर विसर्जन गरिएको छ ।
प्रहरी परिचालन गरेर गाडीलाई सुरक्षा दिएर सोमबार २ सय ३ वटा गाडीले फोहोर विसर्जन गरेको काठमाडौंको मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् ।
उनले सोमबार २ सयभन्दा बढी प्रहरी परिचालन गरी फोहोर बोकेका गाडी बन्चरेडाँडा लगिए पनि केही समूहले गुलेली हानेर अवरोध गरेको पनि बताएका छन् ।
फोहोर व्यवस्थापनमा तत्काल देखिएका समस्या सतही मात्रै भएको उल्लेख गर्दै उनले भनेका छन्, 'केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरु छन् । नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ रु २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?'
सत्तारुढ दलका स्थानीय नेताहरूले नै आइतबार बन्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरुले सोमबार बिहानैदेखि धुनिबेंसी–१ ढाडेमा फोहोर बोकेका गाडीलाई रोकेका थिए । सोमबार दिउँसो प्रहरी परिचालन गरी अवरोध हटाएर फोहोर विसर्जन गरिएको थियो ।