धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्वजनिक बिदा दिइएको छ। भदौ १ गते मनाइने ओल्के पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। उक्त दिन सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।
साउन मसान्तसँगै प्रदेशमा ओल्के पर्वको रमझम सुरु हुन्छ। ओल्के मनाउन रोजगारीका लागि भारत लगायतका स्थानमा गएका सुदूरपश्चिमेलीहरू स्वदेश फर्कन थालेका छन् ।
साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्त्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ।
ओल्को भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ। आफूभन्दा ठुलाबडा मान्यजनलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु,छोरीचेलीहरूलाई घरमा बोलाएर मिठोरमसिनो खानदिनु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो।