काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने हद म्याद मंगलबार सकिएको छ।
आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन २०७९ साउन १९ सम्म आयोगमा दर्ता कायम रहेका दललाई साउन २२ देखि साउन ३१ गतेसम्म दल दर्ताका लागि समय दिएको थियो। निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर चुनावमा जाने प्रावधान अनुरुप यसरी निवेदन दिने दलको संख्या चार रहेको छ।
“अन्तिम समयसम्म ८४ वटा दल दर्ता भएको देखिन्छ। प्राप्त निवेदनमा भोलिबाट हेर्ने, केलाउने काम हुन्छ। दुई वा दुईभन्दा बढी दलहरु मिलेर संयुक्त रुपमा चुनाव लड्ने प्रावधान अनुरुप यस्तो चार समूह रहेको छ,” अर्यालले भने । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकैचरणमा गर्ने घोषणा गरेको छ भने त्यहीअनुसार आयोगले तयारी गरिरहेको छ ।