काठमाडौँ । आज भदौ १ अर्थात् ओल्के पर्व । ओल्के संक्रान्ति नेपालको सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ । पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आज यहाँका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ।
साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ ।
ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।
यो पर्व विशेषमा ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ ।
यस्तो छ सामाजिक मान्यता
भनिन्छ, ओल्के संक्रान्तिताका सतरति (सातरातको झरी) पर्दछ । यो समयमा आकाशमा तारा देखिएमा वा वन चर्न गएका भैसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने सम्भावना रहन्छ । यसैताका ऋतुमति धर्तीले नवीन सिर्जना गर्न थाल्छिन् । प्रकृतिमा नयाँ–नयाँ किसिमका वनस्पति र किरा फट्याङ्ग्राहरू देखिन थाल्छन् । धुलो धुँवा र फोहोर पखालिन्छ । पाखा पखेरामा नवधार (पानीका नयाँ मुहान) फुट्न थाल्छन् । पृथ्वी पुनः शस्यश्यामला र कञ्चन बन्छिन् । ओल्के संक्रान्ति पछि नै सुरु हुन्छ गौराको पावन पर्व । देवराग ( अर्थात् डेउडा गित देउरा ) गायनको महान् अवसर ।
भनिन्छ, पहाडका ससाना खोलानालाबाट पनि ओल्को आउन थालेपछि मैदानका महानदीले यिनलाई निक्कै फुरुङ्ग्याउँछन् । कुरैकुरामा आफ्नी छोरीको विवाह यी फुर्तिला शैल–सरिताका छोरासंग गरिदिने वचन पनि दिन्छन् । तर बिहे भने हिउँदमा मात्र हुने निधो हुन्छ । विचरा सोझा पहाडी खोलाहरू रातदिन विवाहको जोरजाममा खटिन्छन् । विडम्बना, हिउँद आउँदा नआउँदै पानीको मूल सुक्न पुग्छ र ठूला घरसंग साइनो जोड्ने यिनको मनसुवा कहिले पनि पूरा हुँदैन ।
यस पर्वलाई विभिन्न किसिमले मनाए पनि यसको मुल सन्देश भनेको आपसी मित्रताको गाँठो बलियो पार्नु हो । आजका दिनमा गाउँगाउँका युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउसोभरी रमाईलो गर्ने र बेलुका बुढीहाल्ने गर्दछन् । आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष डाक्टर टीएन जोशी बताउछन ।
विजय उत्सवका रूपमा मनाइने बुढी हाल्ने र पोल्ने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने बताउदै जोशीले परम्परागत किंबदन्ती अनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) ले पुतनाको शव दहन गरेको कथन रहेको बताए ।