काठमाडौँ । उपत्यकाको फोहोर व्यवस्थापन हुने ठाउँ बञ्चरेडाँडामा स्थानीयबासिन्दाको अवरोध कायमै छ । हिजो जस्तै आज पनि अवरोधकैबीच प्रहरीको बलमा फोहोर फाल्ने तयारी भैरहेको छ ।
बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पर्ने धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर १ का बासिन्दाको अवरोधका कारण हिजो फोहोर बोकेका केही गाडी बाटोमै रोकिएका थिए ।
बाटोमै रोकिएका ती गाडीलाई आज प्रहरीको स्कर्टिङमा बञ्चरेडाँडामा पुर्याइने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले उज्यालोलाई जानकारी दिनुभयो । तर स्थानीयबासिन्दाको अवरोध रहेकाले फोहोरका गाडीलाई बञ्चरेडाँडासम्म पुर्याउन चुनौती छ ।
हिजो फोहोरका गाडीलाई लैजाने क्रममा स्थानीयबासिन्दा र प्रहरीबीच झडप समेत भएको थियो । झडपमा परेर त्यहाँका कमल तामाङ घाइते भएका थिए । उनको अहिले काठमाडौँमा रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको धुनिबेशी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार सडक मर्मतको काम पूरा नगरी फोहोर लैजान थालिएको र फोहोर बोक्ने गाडीमा लिच्चड ट्याङ्की अर्थात् फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको भन्दै स्थानीयबासिन्दाले आन्दोलन गरेका हुन्।
फोहोर र त्यसबाट निस्कने लिच्चडले गाउँ नै दुर्गन्धित पारेको वडा अध्यक्ष तामाङले बताए । यसअघि लिच्चड बग्न नदिने, फोहोरलाई पुर्ने, दुर्गन्ध फैलिन नदिन औषधि छर्कने जस्ता सम्झौता भए पनि त्यो पालना नभएको तामाङले बताए ।
स्थानीयबासिन्दाको अवरोधकै बीच हिजो काठमाडौँ महानगरपालिकाले १ सय ९० वटा गाडीलाई बञ्चेडाँडा पुर्याइएको थियो । स्थानीयबासिन्दाले अवरोध नगरे आज २ सय ५० वटा गाडी बञ्चरेडाँडामा पुर्याउने तयारी छ । लामो समयदेखि फोहोर नउठ्दा काठमाण्डौ उपत्यकामा दुर्गन्ध फैलिन थालेको छ ।