काठमाडौं। प्रतिनिधिसभा महाअभियोग सिफारिस समितिले आगामी बैठकमा समितिको कार्यविधि र कार्यतालिका टुङ्गो लगाउने निर्णय गरेको छ।
सिंहदरबारमा आज बसेको समितिको पहिलो बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गरेर सोको प्रतिवेदन बुझाउन आवश्यक कार्यविधि र कार्यतालिका तयार गर्ने निर्णय गरेको हो।
समिति सचिवालयले प्रस्तावित कार्यविधिको मस्यौदा तयार गरी वितरण गरेको छ भने कार्यतालिकाको टुङ्गो सदस्यहरूको समन्वयमा अर्को बैठकले लगाउनेछ।
कसले के भने ?
समितिका ज्येष्ठ सदस्य राम बहादुर विष्टको सभापतित्वमा बसेको बैठकमा सदस्यहरुले प्रतिनिधिसभाको कार्यकाल ३ महिनाभन्दा बढी नरहेको भन्दै त्यसअघि नै सक्ने गरी काम गर्नुपर्ने धारणा राखे।
बैठकमा केही सदस्यले ३ महिना महिनाभित्र र केही सदस्यले एक महिनाभित्रै सक्ने गरी कार्यतालिका बनाएर काम गर्नुपर्ने बताए।
समिति सदस्य कृष्णभक्त पोखरेलले एक महिनामा सक्ने गरी ‘कार्यविधि सँगसँगै कार्यतालिका किटान गरिनुपर्ने बताए।
अर्का सदस्य मीनबहादुर विश्वकर्माले अझै ३ महिना समय भएकाले समय अपुग नहुने भन्दै महाअभियोग प्रस्ताव र अरू दस्ताबेजमाथि अध्ययन गरेर छलफललाई तीव्रता दिनुपर्ने बताए।
यसैगरी सदस्य यशोदा सुवेदी गुरुङले विगतमा पक्ष विपक्ष जे भए पनि सिफारिस समितिले निष्पक्ष भएर जतिसक्दो चाँडो प्रतिवेदन दिनेतर्फ कार्यतालिका बनाएर अघि बढ्नुपर्ने बताइन्।
समितिमा ज्येष्ठ सदस्य रामबहादुर विष्टले सबै सदस्य उपस्थितमा अर्को बैठकमा कार्यविधि पारित गर्ने र कार्यतालिका बनाउने प्रस्ताव गरे। ११ सदस्यीय महाअभियोग सिफारिस समितिको आजको बैठकमा एमाले सांसद विष्णु पौडेल र माओवादी सांसद रेखा शर्मा अनुपस्थित भए।
महाभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य रहेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्ध २०७८ फागुन १ गते विभिन्न २१ वटा आरोपमा प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो। जबराविरुद्ध महाअभियोग दर्ता भएपछि फागुन २२ गते महाअभियोग सिफारिस समिति बनेको थियो भने फागुन २९ गते प्रतिनिधि सभामा पेस भएको थियो।
सो महाअभियोग प्रस्तावमा साउन २२ गते प्रतिनिधिसभाले सैद्धान्तिक छलफलपछि महाअभियोग सिफारिस समितिमा पठाएको थियो।