बैतडी । बैतडीमा बुधबार पासोमा फसेर मरेको चितुवा गर्भवती रहेको खुलेको छ । दशरथचन्द नगरपालिका ४ बिनासौंमा बँदेलका लागि थापेको पासोमा परेर मरेको चितुवाको पेटमा दुई बच्चा रहेको पाइएको हो ।
उद्धार गरेर फलामको खोरमा राखेपछि चितुवा मरेको र पोष्टमार्टम गर्दा चितुवाको पेटमा दुईओटा बच्चा भेटिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख श्यामसुन्दर माझीले बताए ।
चितुवा मरेपछि पोष्टमार्टम गरेर खाल्डोमा गाडिएको उनले बताए । चितुवाको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली आउने भनेपनि टोली नपुग्दै चितुवा मरेको निमित्त प्रमुख माझीले बताए ।
चितुवा बँदेलका लागि थापेको पासोमा परेको हो। बैतडीमा जंगली बँदेलले मकैबाली नष्ट गरेपछि किसानहरुले पासो थाप्दै आएका छन् ।