काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाको बिहीबार (भोली)को बैठकबाट नै पारित गरिने भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने भएका छन् ।
प्रतिनिधिसभाको बिहिबार ११ बजे बस्ने बैठकको सम्भावित कार्यक्रमको सूचीमा नागरिकता विधेयकलाई पुनर्विचार गरियोस् र पारित गरियोस् भनेर गृहमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । 'सम्माननीय राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन)विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्' भनी गृहमन्त्रीले पहिलो प्रस्ताव राख्नेछन् ।
गृहमन्त्री खाँणले राखेको उक्त प्रस्तावमा सांसदहरूले आफ्ना धारणा राखेपछि गृहमन्त्रीले नै उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । राष्ट्रपतिले साउन २९ गते नागरिकता विधेयक पुनर्विचार गर्न भनेर प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।