दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।
शैल्यशिखर नगरपालिका–६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको जीप दुर्घटना हुँदा बझाङको बुङ्गल नगरपालिका–८ का पुने बोहरा, उज्ज्वल बोहरा, हिक्मत जाग्री, रैभान बोहरा र दम्फादेवी बोहराको मृत्यु भएको हो ।
गोकुलेश्वरबाट खलङ्गाका लागि छुटेको से १ ज ५५१ नम्बरको जीप उल्लानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार घाइते हुने मालिकार्जुन गाउँपालिका–३ का ५० वर्षीया गोमतीदेवी धामी, ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन गाउँपालिका–६ की ४० वर्षीया रेवती धामी, महाकाली नगरपालिका–३ का ३५ वर्षीय रमेश लुहार, महाकाली नगरपालिका–७ का २५ वर्षीय लिलाराम कोली, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–३ का प्रदीप राना र बझाङ बुङ्गल नगरपालिका–८ का ६८ वर्षीय धनबहादुर जागरी घाइते भएका छन् । उनीहरुमध्ये ३ जना सख्त घाइते रहेका छन् । दुर्घटनामा घाइते भएका नौ जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो ।