काठमाडौं। सत्ता गठबन्धनको बैठक बालुवाटारमा अहिले बसिरहेको छ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भइरहेको हो।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनले साउन २० गते नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदलको बुधबार बसेको बैठकले शीर्षस्थ नेतासँग छलफल गरेर सिट बाँडफाँटमा टुङ्गो लगाउने सहमति गरेको थियो।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले बैठकमा सिट बाँडफाँटलगायत समसामायिक राजनीतिक विषयमा छलफल भइरहेको जानकारी दिए।