काठमाडौं। काठमाडौं महानगरपालिकालाई फोहोर ढुवानी गर्न पेशा तथा व्यवसाय क्षेत्रबाट सहयोग सुरु भएको छ।
यस क्रममा बिहीबार नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले पठाएका १८ वटा ट्रिपर फोहोर बोकेर ल्याण्डफिल साइटतर्फ गएका छन्। समितिले उपलब्ध गराएका ट्रिपरलाई महानगरले हरेक ट्रिपका लागि २३ लिटर डिजेल र श्रमिकलाई एक दिनको १ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनेछ।
यता समानान्तर निर्माण सेवाले पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा ट्रिपर उपलब्ध गराएको छ। यी ट्रिपर पनि बिहीबार बिहानै फोहोर बोकेर ल्याण्डफिल साइट गएका छन्।
महानगरले आफूसँग भएका १२ वटा कन्टेनरमा ट्रान्सफर स्टेशनको फोहोर उठाएको छ। यसरी आज विहान ट्रान्सफर स्टेशनबाट ६० ट्रिपर फोहोर ढुवानी भएको छ।
फोहोर व्यवस्थापनका लागि अवरोध गर्ने श्रृङ्खलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले फोहोर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिएको बताए।
ट्रान्सफर स्टेशनको फोहोर ढुवानी थालिएपछि पीडित संघर्ष समितिका संयोजक चन्द्रमान महर्जनले खुशी व्यक्त गरे।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले भने, ‘हामी यातायात व्यवसायीहरु सामाजिक दायित्व निर्वाह गर्न आएका हौँ। महानगरलाई समस्या परेका बेला पेशा व्यवसायीले सहयोग गर्नुपर्छ भनेर हामीले ट्रिपर तथा ट्रक व्यवसायी समितिसँग छलफल गरेर सहयोग गरेका हौँ।’