काठमाडौँ । निर्वाचन आयोगले सरकारलाई तीनबुँदे निर्देशन दिएको छ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्वाचन आयोगले ३ बुँदे निर्देशन दिएको हो ।
आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा मितव्ययी बनाउन निर्देशन दिएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापनामा सहयोग तथा सहजीकरण गरिदिन पनि आयोगले निर्देशन दिएको छ ।
आयोगले आसन्न निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकामस्थित उपयुक्त स्थलमा र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा स्थानीय प्रशासन तथा सम्बन्धित स्थानीय तहसँग समेत समन्वय गरी सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापन गर्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा सुरक्षाको दृष्टिकोणबाट उपयुक्त हुनेगरी निर्वाचन अधिकृतको कार्यालय राख्ने स्थान तथा भवन यकिन गर्न आयोगले निर्देशन दिएको हो ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दा कुनै सरकारी कार्यालय वा सरकारी स्वामित्वमा रहेको कार्यालय भवनलाई प्रयोग गर्नुपर्ने, तर यस्तो भवन उपलब्ध नभएको खण्डमा मात्र भाडामा लिनुपर्ने भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
भाडामा लिनुपर्ने अवस्था आइपरेमा तोकिएबमोजिमको बजेटको सीमाको परिधिभित्र रही भाडामा लिनुपर्ने व्यवस्था रहेको हुँदा सकभर सरकारी भवनको व्यवस्था गर्न आयोगले निर्देशन दिएको छ ।
आयोगले मतदानस्थल तथा मतदान केन्द्रलाई अपांग, असक्त तथा लैंगिकमैत्री बनाउने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ ।