बैतडी । जिल्ला कारागार बैतडीमा रहेका १६ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । कारागारका जेलर धारा भण्डारीका अनुसार केही कैदीबन्दीमा अत्यधिक ज्वरो देखिएपछि बुधबार पिसिआर परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको थियो ।
आज उनीहरुको सम्पर्कमा रहेका सबैको एन्टिजेन परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमण देखिएका १६ जना कैदीबन्दीलाई अलग्गै कोठामा राखिएको जेलर भण्डारीले बताइन् । कारागारभित्र ठाउँको अभावमा व्यवस्थापन गर्न निकै समस्या रहेको छ ।
२५ जनाको क्षमता रहेको कारागारमा अहिले ९३ जना कैदीबन्दी रहेका छन् । कोरोनाबाट बच्नका लागि भौतिक दूरी कायम गर्नुपर्ने भए पनि कारागारमा भने कोचाकोच गरेर बस्नुपर्ने बाध्यता रही आएको जेलर भण्डारीले बताइन् ।२५ जनाको क्षमता भएको कारागारमा ९३ जनाको बसोबासको व्यवस्थापन गर्न निकै गाह्रो भएको उनले बताइन् ।