काठमाडौँ । अभिनेता भुवन केसीविरुद्ध परेको मुद्धाको पेसी सोमबारका लागि सरेको छ । यसअघि विहीबारका लागि तोकिएको पेसी सरेको हो ।
चलचित्र विकास बोर्ड अध्यक्षमा भुवनको नियुक्तिमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्धा दर्ता गरिएको थियो । विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले भुवनको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गर्नु कानुन विपरीत भएको रिट निवेदनमा उल्लेख गरिएको छ । भुवन केसीले जेठ २१ देखि रिक्त रहेको पदमा मनोनयन पाएका थिए ।