काठमाडौं। फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले मदिरापान गर्दै आफ्ना साथीभाइसँग रमाइरहेको भिडिओ चुहिएसँगै उनले आलोचना खेपिरहेकी छन्।
सामाजिक सञ्जालबाट लिइएको ठानिएको फूटेजमा फिनल्यान्डका ‘सेलेब्रिटीहरू’ सहित आफ्ना साथीहरूसँग मरिनले नाचगान गरिरहेको देखिन्छ।
खासगरी विपक्षी दलहरूले उनको आलोचना गरिरहेका छन् र एकजना नेताले त उनले लागु औषध सेवन गरे–नगरेको समेत जाँच गरिनुपर्ने माग गरेका छन्।
३६ वर्षीय मरिनले लागु औषध लिएको अस्वीकार गरेकी छन् र आफूले रक्सी पिएको र चर्को पाराले रमाएको बताएकी छन्।
केही अघिसम्म उनी विश्वकै कान्छी सरका प्रमुख थिइन्। आफू पार्टी जाने कुरा मरिनले गोप्य राख्ने गरेकी छैनन्। उनले धेरैजसो साङ्गीतिक कार्यक्रममा फोटो खिचाएको पाइन्छ।
गत वर्ष उनले कोभिड–१९ सङ्क्रमितको सम्पर्कमा आएपछि समेत क्लब गएको भनेर आलोचना भएपछि माफी मागेकी थिइन्। जर्मन न्यूज आउटलेट बिल्डले गत हप्ता उनलाई संसारकै रमाइली प्रधानमन्त्री भनेको थियो।
बिहीवारको भिडिओबारे प्रतिक्रिया दिँदै उनले आफ्नो भिडिओ खिचिएको आफूले थाहा पाएको तर त्यसरी सार्वजनिक भएकोमा दुख लागेको बताइन्। उनले भनिन्, ‘मैले नाचेँ गाएँ र रमाइलो (पार्टी) गरेँ। सबै वैधानिक कुरा नै हो।’ आफूले कहिल्यै अन्य कुरा (लागु औषध) सेवन नगरेको उनले बताइन्।
मरिन ३४ वर्षको उमेरमा सन् २०१९ मा प्रधानमन्त्री बनेकी थिइन्। विपक्षी नेता रिक्का पुराले प्रधानमन्त्री मरिनले लागु औषध लिएकी हुन वा होइनन् भन्ने जाँच गर्नुपर्ने माग गरिन्। बीबीसी