काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने भएका छन्।
मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्नेछन्।
उक्त कार्यक्रमलाई ‘श्रमिकसँग श्रममन्त्री’ नाम दिइएको छ। श्रमिकले पैसा नलाग्ने १११४ नम्बरमा टेलिफोन गरेर श्रममन्त्री कुँवरसँग गुनासो र उजुरी राख्न सक्नेछन्।
त्यस्तै पैसा नलाग्ने टोल फ्रि नम्बर १६६००१५००५, ५९७००८ र ९८०१८०००१३ मा फोन गर्न सकिने छ। मन्त्री कुँवर उपत्यका बाहिर रहेको समयमा भने कार्यक्रम सञ्चालन नगरिने मन्त्रालयले जनाएको छ।