काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्रित हुन युवापङ्क्तिलाई निर्देशन दिएका छन्।
माओवादीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा पार्टीको पक्षमा एकढिक्का भएर लाग्न निर्देशन दिए।
उनले भने, ‘चुनावी महासङ्ग्राम अगाडि छ, त्यो सङ्ग्राममा युवाले महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ। अब तपाइँहरु क्रान्तिकारीलाई विजयी गराउने र समाजवादी क्रान्तिको आधार तयार पार्नेमा केन्द्रित भएर लाग्नुपर्नेछ।’
राजनीतिक सङ्घर्षका क्रममा युवाले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा फौजका रुपमा खटिन पनि युवापङ्क्तिलाई आग्रह गरे।
राजनीतिक सफलतासँगै अब समाजवादी क्रान्ति सम्पन्न गर्न युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले युवा सक्रियताले माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव हुने बताए।
माओवादी केन्द्र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न क्रियाशील रहेको जनाउँदै उनले जनताको विशाल समाजवादी सेना तयार गर्ने र उत्पादन वृद्धिको नयाँ अभियानमा पार्टी केन्द्रित भएको बताए।
वामपन्थीलाई एकताबद्ध गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाएर समाजवादको यात्रामा अगाडि बढ्ने पार्टीको नीति रहेको उनको भनाइ छ।