काठमाडौं। धनुषाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा दुई जना बालकको मृत्यु भएको छ।
जनकपुर–ढल्केबर सडकअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित सडकमा बसले साइकललाई ठक्कर दिँदा स्थानीय १३ वर्षीय विशाल दासको मृत्यु भएको प्रहरीले जनाएको छ।
जनकपुरधामबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना५ख १४४१ नम्बरको बसले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते बालकको जनकपुरधामस्थित जानकी हेल्थकेयरमा उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै धनुषाको धनुषाधाम नगरपालिका–२ मखनपुरस्थित मखनबाबा कुटी पोखरीमा बिहीबार डुबेर स्थानीय भोला मण्डलको चार वर्षीय छोरा अनिशकुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।
साथीसँग खेल्दै पोखरीमा नुहाउन गएका बेला डुबेर बालकको मृत्यु भएको हो।
त्यस्तै, सप्तरीमा छुट्टाछुट्टै घटनामा परी आज दुई जनाको मृत्यु भएको छ।
सप्तरीको बोदेबरसाइन नगरपालिका–३ मधुवनमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका १८ वर्षीयको रामनरेश यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
टेबल पङ्खा पर्खालमा राखी चलाइरहेको अवस्थामा अचानक उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–५ जोगिनियामा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको जनाको मृत्यु भएको छ।
मोटरसाइकलको पछाडि सवार सप्तरीको राजविराज नगरपालिका–९ मलेठ बस्ने विजय मेहताको ४० वर्षीय श्रीमती अनुराधा मेहताको मृत्यु भएको हो।
भारदहबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ प७६२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते भएकी उनको पनि छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।