काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताएका हुन् ।
महामन्त्री शर्माले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । फोहोर समस्याको दीर्घकालिन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढंगले सोच्नुपर्ने उनको भनाइ थियो ।
महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकहरूको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताए । उनले समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तह सबै जिम्मेवार हुनुपर्ने बताए ।