काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । झन्डै एक महिनादेखि ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा उपचाररत गिरीको अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ । गिरीका आफन्तले पनि उनको अवस्था जटिल बन्दै गएको बताएका छन् ।
भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो हप्ता नै मेडिसिटीमा भर्ना भएका थिए ।
आज गिरीलाई भेटेर आएपछि कांग्रेस नेता विमलेन्द्र निधिले ट्वीट गरेर उनको स्वास्थ्य अवस्थाप्रति स्तब्ध र निरीह भएको बताउँदै ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु, सबैले प्रार्थना गरौँ भनेका थिए ।
गिरीको स्वास्थ्य लाभको कामनासहित प्रार्थना
उनको शीघ्र स्वास्थ्य लाभको कामाना गर्दै आज नेपाली काङ्ग्रेस वैचारिक अभियानको आयोजनामा नेपाल साङ्स्कृतिक सङ्घ, डिल्ली बजारमा प्रार्थना शभा गरेको छ।
नेपाली काङ्गग्रेस वैचारिक अभियानका संस्थापक संयोजक युवराज खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैचारिक नेता नरहरी आचार्य , दीपकुमार उपाध्याय ,दुर्गासुवेदी लगायतले उहाको ब्यक्तित्वको बारेमा प्रकाश पार्दै स्वास्थलाभको कामना गरेका थिए।