काठमाडौँ । कृष्ण जन्माष्टमी थारू समुदायमा ‘अस्टिम्की’ पर्वका रूपमा परिचित छ । यस दिन समुदायले प्रकृतिको पूजा गर्ने गर्छ । कृष्णजन्माष्टमी पर्वलाई थारू समुदायले ‘अस्टिम्की’ भन्ने गर्छन् ।
वीरेन्द्रनगर–१० स्थित पातालगंङ्गाका थारू समुदायले शुक्रबार अस्टिम्की पूजा गरेका छन् । कृष्ण जन्माष्टमीका दिन थारू समुदायले प्रकृतिमा रहेका वन्यजन्तु, वनस्पति लगायतको पूजा गर्ने गरेको वीरेन्द्रनगर–१० का धनीराम थारूले बताए ।
थारू समुदायका महिला यस दिन व्रत बस्ने गर्छन् । विवाह नभएका महिलाले राम्रो वर माग्ने तथा अन्यले पतिको दीर्घायु तथा घरायसी समस्या समाधानका लागि मनोकामनासहित पूजा गर्ने चलन रहेको धनीरामले बताए । यो पर्व थारू समुदायमा विषेश महत्त्वका साथ लिइन्छ । भगवान् कृष्ण थारू समुदायका कुल देवताका रूपमा रहेको मान्यता छ ।
द्वापरयुगदेखि यो समुदायसँग जोडिएको भगवान् कृष्णसँगको सम्बन्धका कारण कृष्ण थारू समुदायका कुल देवताका रूपमा रहन गएको धनीरामले बताए ।