काठमाडौं। काठमाडौंस्थित अक्षरा स्कुलले ‘अक्षरा स्कुल संस्करण’ पाठ्यपुस्तक सार्वजनिक गरेको छ।
डा. राजु अधिकारीद्वारा लिखित पुस्तकलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, वरिष्ठ चिकित्सक डा. भगवान कोइराला, प्रधानाध्यापक अञ्जु भट्टराई र लेखक डा. अधिकारीले संयुक्त रुपमा विमोचन गरे।
आयुक्त थपलियाले नेपालका अधिकांश विद्यालयहरू विद्यार्थीलाई संस्कार सिकाउनबाट चुकिरहेकाले राम्रो अंक ल्याएर उत्तीर्ण गरेकाहरू पनि जीवनको परीक्षामा असफल भइरहेको तर्क गरे। ‘संसार बदल्ने हो भने पहिला आफू बदलिनुपर्छ। आफू बदलिन संस्कार जान्नुपर्छ संस्कारसहितको शिक्षा हुनुपर्छ,’ उनले भने।
डा. कोइरालाले पछिल्लो समय मानिसहरू आधारभूत मानवीय मूल्य बिर्सँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै भने, ‘विज्ञान छ, प्रविधि छ, भौतिक विकास पनि छ। यी सबै चाहिन्छ। तर यसका साथमा मानव मूल्य पनि चाहिन्छ। मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मूल्य हुँदैन।’
विद्यालय संस्थापक तथा प्रधानाध्यापक अञ्जु भट्टराईले अक्षराको मुख्य उद्देश्य संस्कारयुक्त शिक्षा दिनु रहेको कुरामा जोड दिइन्। संस्कारयुक्त शिक्षा आजको आवश्यकता भएकाले नै आफूहरूले १२ वर्ष अगाडि अक्षरा स्थापना गरेको बताइन्। ‘हाम्रो विद्यालयको मिसनसँग यो पुस्तक मिल्ने रहेछ। त्यसै कारण हामीले यसलाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्ने निष्कर्ष निकाल्यौँ,’ पुस्तक स्कुलको पाठ्यक्रममा राख्नुको कारण खुलाउँदै भट्टराईले भनिन्, ’अब संस्कारको बेग्लै पाठ्यक्रमसमेत बनाउने तयारी भइरहेको छ।’
लेखक डा. अधिकारीले संस्कारसहितको शिक्षाले मात्र जीवन अर्थपूर्ण हुने उल्लेख गरे। आफ्ना सन्तानलाई राम्रो संस्कार दिनेबारे हरेक अभिभावक सचेत हुनुपर्ने उनको भनाइ छ। ‘जतिसुकै व्यस्त भए पनि अभिभावकले बालबालिकालाई क्वालिटी टाइम र संस्कार चाहिं दिनैपर्छ,’ उनले भने ।
संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्व, असल सन्तान नै अमूल्य सम्पत्ति, संस्कार युक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सद्गुण र शिष्टाचार, बनौँ संस्कारी जस्ता विषय पुस्तकमा समेटिएका छन्।