कास्की । नवौँ राष्ट्रिय खेलकुदको आवश्यक प्रशासनिक र व्यवस्थापकीय कामका लागि पोखरामा मूल आयोजक समिति कार्यकारी समितिको सचिवालय स्थापना गरिएको छ ।
पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा स्थापना गरिएको सचिवालयको आज सङ्घीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले संयुक्तरुपमा उद्घाटन गरे ।
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा तय भएको राष्ट्रिय खेलकुदका लागि गर्नुपर्ने आवश्यक सबै प्रशासनिक र तयारीका सबै काम सोही सचिवालयबाट हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं कार्यकारी समितिका सचिव टङ्कलाल घिसिङले बताए ।
सचिवालयमा आवश्यक जनशक्ति व्यवस्थापन गरिने र यसलाई नै प्रतियोगिताभरका लागि मुख्य काम गर्नेस्थल बनाइने उनले बताए ।कार्यक्रममा युवा तथा खेलकुदमन्त्री गहतराजलले सङ्घ, प्रदेश र स्थानीय सरकार तीनै तहको संयुक्त प्रयासबाट राष्ट्रिय खेलकुदलाई सफल बनाइने बताए ।
राष्ट्रिय खेलकुद आयोजना गर्ने संवैधानिक जिम्मेवारी केन्द्रीय सरकारको भए पनि समग्र भूमिका सोही ठाउँको प्रदेश र स्थानीय सरकारको रहने खेलकुदमन्त्रीले बताए।नवौँ राष्ट्रिय खेलकुदका लागि पोखरामा अहिले तयारीका काम अघि बढाइएको छ । खेलाडी प्रशिक्षण, खेलस्थल अवलोकन निरीक्षण तथा निर्माणाधीन खेल पूर्वाधारलाई सम्पन्न गर्न लागिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।