काठमाडौँ । सर्वोच्च अदालतले आइतवार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी मंगलबार सुनाउने भएको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले सो फैसला सुनाउने भएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मंगलवारका दिन निर्णय सुनाउने मिति तय भएको छ ।
यसअघि आइतवारका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो । कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आइतवारको मिति तोकिएको थियो ।यो मुद्दामा फैसला नहुँदा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अन्योलमा परेको छ ।