काठमाडौँ । निहारिका राजपुतले अनशन तोडेकी छन् । १७ दिनदेखि काठमाडौँमा अनशन बसिरहेकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले सरकारसँग सहमति भएपछि हिजो बेलुकी अनशन तोडेकी हुन् ।
सहमतिपत्रमा राजपुतको माग र अनुरोधबमोजिम उच्च अदालत जनकपुरमा विचाराधिन मुद्दाको डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने, डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने र माग पूरा भएकोले राजपुतले अनशन अन्त्य गर्ने उल्लेख छ ।
शिवराज श्रेष्ठले आफूमाथि धनुषामा जबरजस्ती करणी गरेको र त्यसबाट बच्चा जन्मिएकाले आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने लगायतका माग राखेर निहारिका गएको जेठ २९ गतेदेखि काठमाडौँमा अनशन बसेकी थिइन् ।
सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि असार ३ गते उनले अनशन रोकेकी थिइन् । तर सहमतिअनुसार माग पूरा नभएको भन्दै उनले राष्ट्रपति भवन शीतल निवास अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
उपचारकै क्रममा उनि अनशनमा बसेकी थिइन् ।यसअघि निहारिकाले शिवराजविरुद्ध कारबाहीको माग गरे पनि जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दाबाट सफाइ दिएको थियो । आरोपितलाई सफाइ दिएको फैसलामाथि प्रश्न उठेपछि न्यायाधीश परशुराम भट्टराईलाई सर्वोच्चमा फिर्ता बोलाइएको छ ।