काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सर्वोच्च अदालत माथि व्यंग्य गरेका छन्। नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले दिएको अल्पकालिन अन्तरिम आदेशप्रति यसअघि नै असन्तुष्टी जनाएका मेयर शाहले मुद्दाको पेसी अझै नआएकोमा व्यंग्य गरेका हुन्।
उनले सामाजिक सञ्जालमा अदालतलको ढिलासुस्तीलाई कटाक्ष गर्दै आफ्नो फोटो एडिट गरेर वृद्ध जस्तो देखिने बनाइ त्यसमा ‘नर्भिकको पेसी पर्खँदै’ लेखेर सेयर गरेका छन् ।
त्यस फोटोको माथि उनले लेखेका छन्, ‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकाल पछि आउँछ कि ! ’
बालेनले सम्झौतामा संरचना बनाउने नभएको र नक्सा जाँचपास नगरी बनाइएको भन्दै नर्भिक अस्पताललाई साउन २४ गते हटाउन निर्देशन दिएका थिए । तर साउन २५ गते सर्वोच्चले अल्पकालीन आदेश जारी गर्दै तत्काल नर्भिक अस्पतालको संरचना नहटाउन भनेको थियो ।