काठमाडौं । लघुकथा समाज नेपालले १४औँ लघुकथा दिवस विशेष रूपमा मनाएको छ ।समाजले प्रत्येक वर्ष भदौ ५ गतेलाई लघुकथा दिवसका रूपमा मनाउँदै आएको छ ।
आइतबार सर्वनाम नाट्यघरमा आयोजित कार्यक्रममा समाजले प्रदान गर्दै आएको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान-२०७९’ पाँच दशकअघि नै लघुकथाका क्षेत्रमा कलम चलाएकी कथाकार अनिता तुलाधरलाई प्रदान गरियो । उनको लघुकथा कृति पनि प्रकाशित छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले अनिता तुलाधरलाई सम्मान पत्र प्रदान गरे । उक्त सम्मानकासाथ नगद राशि २१ हजार रुपैयाँ पनि प्रदान गरियो ।
नेपालका पहिलो लघुकथाकार पूर्णप्रसाद ब्राह्मणका नाममा ओम श्रेष्ठद्वारा स्थापित यो सम्मान २०७८ सालमा लघुकथा मञ्चन गर्दै लघुकथाको उन्नयनमा योगदान दिबापत सर्वनामलाई प्रदान गरिएको थियो ।
यसै अवसरमा हेमलता उप्रेतीद्वारा लिखित लघुकथासंग्रह ‘एउटा प्रश्न’ सार्वजनिक गरियो । कृति दिवंगत लघुकथाकार हेमलता उप्रेतीकाे दोस्रो लघुकथा कृति हो ।कार्यक्रममा नगेन्द्रराज शर्माले समाजले उचित पात्रलाई सम्मानित गरेकोमा खुशी लागेको बताए ।
उक्त अवसरमा समाजका सल्लाहकारहरू अशेष मल्ल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, सम्मानित स्रष्टा अनिता तुलाधर, ममता मृदुल र तुलसीहरि कोइरालाले मन्तव्य राखे ।
कार्यक्रमको दोस्रो चरणमा अनिता तुलाधरद्वारा लिखित तीन लघुकथाहरू ‘मेटिएको सिन्दुर’, ‘चुहिएको तरङ’ र ‘मृत्युको संगीत’ सर्वनामका रंगकर्मीहरुले मञ्चन गरे ।तीन लघुकथाको नाट्य रूपान्तरण तथा निर्देशन राज शाहले गरेका थिए ।
समाजका प्रदेश समितिहरूले यही भदौ ११ गतेसम्म प्रदेशका राजधानीहरूमा विभिन्न कार्यक्रम गर्दै मनाउने जनाइएको छ ।