तम्घास। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू कहिल्यै पनि पदको लोभमा नभएको बताएका छन्।
समाजवादी प्रेस सङ्गठन, गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफू पदको लोभमा नभएको बताए।
राष्ट्रपति हुने चर्चाको विषयको जिज्ञासामा उनले अहिले यो वा त्यो पद भन्दा पनि पार्टीको निर्णय र आवश्यकताको आधारमा हुने बताए। पहिले निर्वाचनलाई सफल बनाउनुपर्ने र पदका कुरा सफल भएपछि आउने उनले बताए।
संविधानको रक्षा गर्नका लागि गठबन्धन आवश्यक भएको उनको भनाइ छ। जनताले वामपन्थीहरुलाई झण्डै दुई तिहाइको मत दिँदा पनि नेतृत्वले सही व्यवस्थापन गर्न नसकेकाले गठबन्धन आवश्यक रहेको उनले बताए।
उनले वामपन्थी एकता आवश्यक भएको बताए। अहिले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले कुनै दलहसँग एकीकरणको सम्भावना नभए पनि नेकपा (माओवादी केन्द्र)सँग निकटता रहेको उनको भनाइ छ।
प्रदेश र सङ्घको निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँट विगतका इतिहासलाई हेरेर हुने भएकाले कुनै पनि समस्या नआउने उनले स्पष्ट पारे।