काठमाडौं। प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा सांसद प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा सांसद गिरीको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो।
त्यस्तै, राष्ट्रियसभा बैठकमा पनि प्रतिनिधिसभाका दिवंगत सांसद गिरीको निधनमा शोक प्रस्ताव पारित भएको छ।
सोमबार मध्याह्न बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए। उनले प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित भएको हो।
गिरीको गत शनिबार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो।
गिरी नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। त्यस्तै, वि.सं. २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित थिए भने वि.सं. २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।